नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असार ।

प्रतिनिधि सभा विघटन मुद्दामा आज सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गर्दै छन्। उनीहरुले बहसका लागि दुई घण्टा समय पाएका छन्। शुक्रबार सभामुखका कानुन व्यवसायीले यसअघि निर्धारित समय अपुग हुने भन्दै दुई घण्टा समय दिन आग्रह गरेका थिए। यसअघि उनीहरुलाई डेढ घण्टा समय दिइएइको थियो।
सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने, लव मैनाली, श्याम खरेल मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्। यसअघि रिट निवेदक, सरकारी वकिल र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीले बहस सकेका छन्।
आइतबार सभामुखका कानुन व्यवासायीको बहस सकिएपछि रिट निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। जवाफी बहसका लागि ३ घण्टा समय तोकिएको छ। जवाफी बहसपछि सर्वोच्च बार र नेपाल बारबाट झिकाइएका एमिकस क्युरीले राय दिनेछन्। त्यसपछि मुद्दा फैसलाको प्रक्रियामा जानेछ । यो मुद्दाो फैसला यही साता आउने बताइएको छ ।
