नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असार ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न आइतबार साँझ सुटुक्क बालुवाटार प्रवेश गरे । ओलीकै बोलावटमा उनी बालुवाटार पुगेको स्रोतले बतायो । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव नेपालले आनाकानी गरेपछि ओलीले नेपाल पक्षका दोस्रो तहका नेतालाई फकाउन सुरु गरेका छन् ।
हस्ताक्षर फिर्ताको लागि ओलीले दिएको अल्टिमेटम आज सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन दोस्रो तहका नेता सक्रिय छन् । स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिएका थिए ।
माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको हो । अन्य नेताहरुले पहल गर्दा नेपालले प्रधानमन्त्री ओलीसँग भेट्नसमेत अस्वीकार गर्दै आएका छन् । भीम रावलसँग पनि ओलीले एकता बचाउने हो भने हस्ताक्षर फिर्ताको वातावरण मिलाउन आग्रह गरेका थिए ।
ओलीले माधव नेपाल पक्षका नेताहरुलाई व्यक्तिगत रुपमा भेट्दै आफ्नो पक्षमा आउन विभिन्न प्रलोभन पनि देखाउने गरेको बताइन्छ । एक्लाएक्लै प्रभावशाली नेताहरुलाई भेटेर ओलीले नेपालमाथि दवाव बढाउने रणनीति लिएको बुझ्न सकिन्छ ।
