संसद् विघटनविरुद्धको बहस आज सकिँदै, कहिले आउला फैसला ?

प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ दोस्रो पटक संसद भंग गर्दै चुनाव घोषणा गरे। गत जेठ ७ गते शुक्रबार मध्यरातमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्तिक २६ र मंसिर ३ मा चुनाव गर्ने मिति तोक्यो। र, राष्ट्रपति विद्यादेवि भण्डारीले त्यसलाई सदर गर्दै राति १ बजे संसद विघटन गर्दै चुनावको घोषणा गरिन्।

यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए। तर सर्वोच्च अदालतले ६६ दिन पछि फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। दोस्रो पटक भएको विघटनको ४५ दिनपछि आज सबै बहस सकिँदै छ। आइतबार प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस सकिएर रिट निवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।



जवाफी बहसका लागि तीन घण्टाको समय तोकिएको छ। रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि अदालतका सहयोगी एमिकस क्युरीले बहस गर्ने छन्। त्यसका लागि दुई घण्टाको समय निर्धारण गरिएको छ। आज सम्पूर्ण बहस सकिने सर्वोच्च स्रोतले जनाएको छ।

हिजोदेखि संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस सुरु भएको छ। वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले जवाफी बहस सुरु गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सबै तिरबाट असफल भइसके पनि नैतिकता गुमाएर फेरि त्यही पदमा दोहोरिन खोजेको टिप्पणी गरे। उनले प्रधानमन्त्री ओलीले नैतिकता नदेखाएपछि अहिलेको परिस्थिति आएको बताए। श्रेष्ठले प्रधानमन्त्री ओलीले अब कब्जा गर्न बाँकी सभामुख मात्रै भएको तर्क गरे ।

आज वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले रिट निवेदकका पक्षबाट जवाफी बहस गर्ने छन्। रिट निवेदक पक्षका कानुन व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुने छ। सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ। पक्षका कानुन व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्दामा अब ४ घण्टा मात्र बहस हुनेछ। त्यसपछि सर्वोच्च अदालतले फैसला गर्ने छ। मंगलबार, बुधबारसम्म मुद्दाको फैसला आउने बताइएको छ ।

सम्बन्धित समाचार