नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।

नेकपा एमालेको कार्यदलको आजको बैठकमा हिजोभन्दा प्रगति भएको बताइएको छ । पार्टीको विवाद समाधानका लागि कार्यदलको बैठक बसेको थियो । सिंहदरबारमा बसेको बैठकमा व्यवस्थित ढंगले छलफल भएको नेता गोकर्ण विष्टले जानकारी दिए । उनका अनुसार कार्यदलको बैठक भोलि पनि बस्नेछ ।
अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले संयुक्त वक्तव्य जारी गर्ने तयारी गरेको हल्ला चलेको थियो । तर, बैठकमा त्यस विषयमा कुनै छलफल नभएको नेता रघुजी पन्तले बताए । कार्यदलको बैठक हिजो पनि बसेको थियो । बैठकपछि नेताहरुले सौहार्दपूर्वक छलफल भएको र विवाद समाधान हुनेमा आशावादी हुन सकिने प्रतिक्रिया दिएका थिए ।
गएको शुक्रबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिटमा गरिएको हस्ताक्षर फिर्ता लिन सोमबार साँझसम्मको ‘अल्टिमेटम’ दिएको थियो । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले हस्ताक्षर फिर्ता लिएन । अल्टिमेटम सकिएलगत्तै कार्यदल ब्युँताएर पार्टी विवाद हल गर्न छलफल सुरु भएको हो ।
गएको जेठ २ गते बनाइएको कार्यदलमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङको नेतृत्वमा नेताहरु विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । खनाल–नेपाल समूहबाट नेता भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।
