इन्धनको मूल्य वृद्धि हुनुमा अन्तर्राष्ट्रिय बजारको प्रभाव मात्र होइन

सोमबार राती १२ बजेदेखि लागुहुने गरी एकपल्ट पुनः नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले एक प्रेस विज्ञप्ति प्रकाशन गरी पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा भारतीय आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीका आधारमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि, २०७१ अनुसार विक्रीमूल्य समायोजन गरेको जनाएको छ ।

समायोजन गरिएको मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टिलेल तथा आन्तरिक हवाइ इन्धनमा साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरी बिक्री मूल्य पेट्रोलको १२९ रुपैया, डिजेल र मट्टिलेलको ११२ रुपैयाँ तथा आन्तरिक हवाइ इन्धनको ८४ रुपैयाँ कायम गरिएको छ । साथै खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरी १ हजार ४२५ कायम गरिएको जनाएको छ । निगमका अनुसार अहिलेको मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर ७.४५ रुपैयाँ, डिजेलमा प्रति लिटर ४.३५ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर ३ सय १९.३२ रुपैयाँ घाटा रहने छ । निगमका अनुसार सतप्रतिशत स्वचालित मूल्य कार्यान्वयन प्रणालीअनुसार नै मूल्य समायोजन गर्ने हो भने काठमाडौंमा पेट्रोलको मूल्य प्रति लिटर १ सय ४८ पुग्नेछ ।



सरकारी करको भारले जनता सकसमा
नेपाल आयल निगमका अनुसार भारतको रक्सौलमा प्रति लिटर ६७.७७ रुपैयाँमा किनेको पेट्रोलमा सरकारले ५६.६१ रुपैयाँ कर थपिदिन्छ । यही अनुपातमा करको भार थपिँदा उपभोक्तालाई बढ्दो इन्धनको मूल्यले ढाड सेकेको हो । उपभोक्ताले आयल निगमलाई मूल्य वृद्धि गरेकोमा रोष प्रकट गरिरहँदा स्वयम् निगम भने घाटा सहेर व्यापार गर्न बाध्य छ । २०७१ असोज १३ बाट स्वचालित मूल्य कार्यान्वयन कार्यविधि लागु भएपछि निरन्तर नाफामा रहेको निगम चालु आवदेखि भने घाटामा जाने स्रोतको दाबी छ ।

सम्बन्धित समाचार