नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको शनिबारको बैठक टुंगिएको छ । अपराह्न सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक बसेको थियो । बैठकपछि बाहिरिने क्रममा नेता गोकर्ण विष्टले भोलि सार्थक निष्कर्षमा पुगिने बताए । आज लगभग निष्कर्षमा पुगिसकेको उनको भनाइ छ ।
,भोलिको दिन पार्टी एकताको सन्देश दिन सफल हुनेछौँ । भोलि सार्थक निष्कर्षमा पुग्नेछौँ,’ उनले भने, ‘विश्वासको वातावरण बनेको छ । सुखद समाचार भोलि नै सुन्न पाउनुहुन्छ ।’
समस्या समाधानको अन्तिम विन्दुमा आइपुगेको भन्दै उनले भोलि पुनः बैठकले बसेर सबै कुरा टुंग्याइने बताए ।
लामो समयदेखि अनौपचारिक सम्वादमा रहेका दोस्रो तहका नेताहरुले सोमबारदेखि कार्यदल स्तरमा छलफल गरेका थिए । पछिल्ला दिनहरुमा नेताहरुले सहमति नजिक पुगेको दाबी गरेपनि सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा के गर्ने भन्ने समझदारी बन्न सकेको छैन ।
