नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । सर्वोच्चको फैसला लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकपछि प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रारम्भमा सानो मन्त्रीमण्डल गठन गर्ने र दलहरुकोबीचमा सहमति र सहकार्यलाई अगाडि बढाउँदै लैजाने विषयमा छलफल भएको जानकारी दिए ।
सोमबार विपक्षी गठबन्धनको बैठक बसिरहेका बेला शीतल निवासबाट शपथ ग्रहणका लागि खबर आएको कांग्रेस नेताहरुले बैठकमा जानकारी गराएका थिए । त्यसपछि नेताहरुले सरकार कस्तो बनाउने भन्नेबारे छलफल गरेका थिए ।
कांग्रेस नेता खाँणले बैठकमा संविधान, लोकतन्त्र र संसद्को रक्षाका लागि सर्वोच्चले गरेको आदेश ऐतिहासिक भएको भन्दै स्वागत गरिएको र यसमा सहयोग पुर्याउनेलाई धन्यवाद पनि दिएको बताए । त्यसैगरी पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने र सबै दलहरू मिलेर अघि बढ्ने बारे छलफल भएको बताए । उनले भने, ‘सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभाको पुनर्वहाली पनि गरेको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश पनि जारी गरेको छ । सर्वोच्च अदालतले ऐतिहासिक र महत्त्वपूर्ण फैसला गरेको छ । त्यस कारणले हामी पाँचै दलले सर्वोच्च अदालतलाई हार्दिक धन्यवाद पनि दिएका छौं ।’
जनता समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराईले सर्वोच्चले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई सही बाटोमा ल्याउने काम गरेको बताए । उनले देउवाको नेतृत्वमा सरकार बनाउन लागि पर्ने र गठबन्धनको सरकारलाई प्रभावकारी कसरी बनाउने भन्नेबारेमा पनि तयारी गरेर सहमति कायम गरि अघि बढ्ने बारे गठबन्धनमा छलफल भएको बताए ।
गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्ष भने बाहिरिएको छ। सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो। सोमबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराएका छन्।
