नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

सर्वोच्च अदालतको आदेशअनुसार आज प्रधानमन्त्रीमा शपथ ग्रहण गर्न लागेका शेरबहादुर देउवाले गृह र अर्थ मन्त्रालय कांग्रेससँगै राख्ने योजना बनाएका छन् । देउवा निकट एक नेताले दिएको जानकारीअनुसार गृह र अर्थ मन्त्रालयमा कांग्रेसकै दाबी रहनेछ ।
अन्य कुन कुन मन्त्रालय कसलाई दिने भन्ने विषयमा निर्णय भएको छैन । माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक अहिले बस्दैछ । उनीहरुको बैठकबाट सरकारमा जाने नेताहरुको टुंगो लाग्ने भएको छ ।
सर्वोच्चको आदेशपछि देउवा आज पाँचौपटक प्रधानमन्त्री बन्दैछन् । २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् । उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।
विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् । आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् ।
यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । सुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ ।
सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ । जसपाका तीन नेता उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।
