नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ असार ।

सर्वोच्च अदालतले परमादेश जारी गरेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीको शपथ लिने भएका छन् । योसँगै देउवाको मन्त्रिमण्डलमा गठबन्धनमा समावेश कुन पार्टीका कति जना र को–को मन्त्री बन्दै छन् भन्नेबारे चर्चा सुरु भएको छ।
सरकारमा आफ्ना तर्फबाट कति र क–कसलाई मन्त्री बनाउने भन्नेबारे छलफल गर्न माओवादीले मंगलवार स्थायी कमिटी बैठक बोलाएको छ। पेरिसडाँडामा बोलाइएको बैठकमा मन्त्रीहरुको टुङ्गो लागेपछि मन्त्रीहरुकै सहभागिताबारे छलफल गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल देउवालाई भेट्न बुढानिलकण्ठ जाने बताइएको छ ।
माओवादी स्रोतका अनुसार यसअघि नेकपा सरकारमा लामो समय मन्त्री भइसकेका आफ्ना नेताहरुलाई सकेसम्म नपठाउने गरि छलफल सुरु भएको छ। सकेसम्म महिला, दलित, जनजाति र नयाँ अनुहारलाई सरकारमा पठाउने गरि छलफल सुरु गरेको हो ।
माओवादीबाट नारायणकाजी श्रेष्ठको नेतृत्वमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, पम्फा भुसाल, अञ्जना विसंखे, शशि श्रेष्ठ मन्त्री बन्ने सम्भावना छ। देव गुरुङ र देवेन्द्र पौडेलको नाम पनि चर्चामा छ । उनीहरुले कुन मन्त्रालय पाउनेछन् भन्ने विषय देउवा र प्रचण्डबीच आज हुने भाटवार्ताले तय गर्ने भएको छ ।
