नवकान्तिपुर संवाददाता
काठमाडौं, २९असार ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नगरेकोप्रति शेरबहादुर देउवाले आपत्ति जनाएका छन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति नसच्याए सम्म सपथ नलिने अडान राखेपछि ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम अहिले सम्म सुरु हुन सकेको छैन।
देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई आफ्नै निवास बोलाएर प्रधानमन्त्री नियुक्तीको विज्ञप्ति नसच्चिएसम्म सपथ ग्रहण नगर्ने बताएका छन्। देउवाले आफू संविधानको धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै असहमति जनाएका हुन्। देउवाको अडान पछि राष्ट्रपति कार्यालय विज्ञप्ति सच्याउन तयार भएको बुझिएको छ।
राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको खबर आएपछि देउवा सपथ लिन शीतल निवास पुगेको उनको सचिवालयले जानकारी दिएको छ। देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री नियुक्त्त भएका हुन्। देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न अस्वीकार गरेका हुन् ।
उनले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गरेको भनी उल्लेख गर्नुपर्ने अडान लिएका स्रोतले जनाएको छ । राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।
तर देउवाले भने आफूले धारा ७६ (५)अनुसार प्रधानमन्त्रीमा दावी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।
