एकाएक बढ्यो विप्लवको राजनीतिक सक्रियता, बाबुरामलाई पनि भेटे

प्रतिबन्ध फुकुवा भएपछि खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बुधबारदेखि एकाएक राजनीतिक भेटघाटमा सक्रिय बनेका छन्। बुधबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खुमलटारस्थित उनको निवासमै पुगेर भेटेका विप्लव विहीबार बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगे। कोटेश्वरमा उनले नेपालसँग छलफल गरिरहेकै समयमा प्रचण्ड पनि आइपुगे।

आज भने विप्लवले जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई भेटेका छन् । आजको भेटमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीइतरका सबै वामपन्थी शक्तिहरुबीच सहकार्य गरेर अघि बढ्नेबारे छलफल भएको बताइन्छ ।



आफ्नो गृहजिल्लामा बस्दै आएका विप्लव खासमा थुनामा रहेका आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा उनीहरुमाथिका मुद्दा फिर्ताका लागि पहल गर्न काठमाडौं आएको उनको पार्टीका नेताहरुले बताएका थिए । तत्कालीन प्रधानमन्त्री ओलीसँग तीन बुँदे सहमति गरेर नाटकीय रुपमा भूमिगत राजनीति छाडेका विप्लव ओलीको सत्ता बहिर्गमनसँगै उनको विपक्षी गठबन्धनका नेताहरुसँग नजिकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

तत्कालीन ओली सरकार र विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सम्झौता भएको पाँच महिना वितिसक्दासमेत आफ्ना नेता र कार्यकर्ताको रिहाई तथा मुद्दा फिर्ता नभएपछि विप्लव त्यही पहल गर्न शीर्षनेतासँगको भेटघाटमा सक्रिय रहेको उनको पार्टीका नेताहरुको दाबी छ।

गत फागुन २१ गते सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिमा सरकारले नेता र कार्यकर्तालाई रिहा गर्ने, उनीहरुमाथि लगाइएका मुद्दा फिर्ता लिने सहमति भएको थियो। तर, तत्कालीन प्रधानमन्त्री सहमति पालना गर्न आनाकानी गरेकाले समस्या उत्पन्न भएको नेताहरु बताउँछन्। नेकपाका महासचिव विप्लवले त्यसयता बालुवाटार पुगेर तीन पटक ओलीसँग कुरा गरेका थिए। तर, ओलीले भने प्रक्रियामा रहेको भन्दै आलटाल गरेर नेता कार्यकर्ताको रिहाई र मुद्दा फिर्तामा बिलम्ब गरेका थिए।

सम्बन्धित समाचार