नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

पार्टी एकताको विषयमा छलफल गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको बैठक बस्दैछ। शनिबार बस्ने बैठकमा १० बुँदे समझदारी कार्यान्वयनबारे छलफल हुने वरिष्ठ नेता नेपाल पक्षधर एक नेताले बताए।
‘हामी कार्यदलका साथीहरू अनौपचारिक रुपमा छलफल गर्दैछौं। एकताका लागि हाम्रो प्रयास जारी रहन्छ,’ ती नेताले भने, ‘अबको १-२ दिनमा सकारात्मक परिणाम आउने गरी छलफल गर्छौ। कार्यदलले गरेको कामलाई कसरी कार्यान्यन गर्ने भन्नेमै हाम्रो छलफल हुन्छ।’ दुवै पक्ष बैठक बस्ने भने पनि समय भने तय भएको छैन।
एमाले स्थायी कमिटीको शुक्रबार बसेको बैठकले कार्यदललाई धन्यवाद दिदै कार्यदल विघटन भएको घोषणा गरेको थियो। देयवा सरकारलाई विश्वासको मत दिनेबारे एमालेमा विवाद कायमै छ ।
