नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए । एक जना भने तटस्थ बसेका थिए ।
देउवलाई उनको आफ्नै दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् । राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।
देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानमा धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार उनले विश्वासको मत लिएका हुन्।
देउवाले प्रधानमन्त्रीका रुपमा विश्वासको मत पाएसँगै २–२ पटक विघटनको मार खेपेको प्रतिनिधि सभा अब पूर्ण कार्यकाल चल्न पाउने भएको छ।
