नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा छलफलका लागि नौ एजेण्डा प्रस्तुत गरिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउने दशबुँदे सहमति, संसद पुनस्थापना गर्ने अदालतको फैसला, एमाले सरकारले गरेको काम, पार्टीको भावी कार्ययोजना, शुद्धीकरण र सुदृढीकरण लगायत एजेण्डा प्रस्तुत गरेका छन् ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी पार्टीको १०औं केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियान लगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सोमबारको बैठकले पार्टीको निर्णय विपरीत प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यता वरिष्ठ नेता माधवकुमार नेपालले जारी विवाद र सरकारमा सहभागिताबारे आफू पक्षीय सांसदसँग छलफल गरेका छन् ।
