‘ओलीले पार्टी अध्यक्ष छोडे एमाले एकताबद्ध हुन्छ’

नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद छोड्न छोडे पार्टी एकता हुने बताएकी छिन् । उनले ओलीलाई आवेग र कुण्ठाबाट ग्रसित भएर आफूहरूसँग बदला नलिन समेत भनिन्।

‘तपाईंले पार्टी एकता गर्न चाहनुहुन्छ, अझै पनि लोकतन्त्रलाई बचाउन चाहनुहुन्छ भने तपाईंले मार्ग प्रशस्त गर्नुस्। तपाईंले पार्टी अध्यक्ष छोड्नुस्। र, नेकपा एमाले एकताबद्ध पनि हुन्छ। र, अब हामी नयाँ ढंगले अगाडि जान पनि सक्छौं’ झाँक्रीले भनिन्, ‘होइन भने, हामीसँग पटकपटक बदलाको भावना लिने र एक प्रकारले उहाँले नै भनेजस्तो काठमाडौंमा रिसाएको बिरालोले कहाँ गएर खाँबो चिथोर्छ भन्नुहुन्थ्यो त्यो बेला। अहिले पनि उहाँले त्यो खाँबो चिथोरेजस्तो कुरा गर्नुभएन। किनभने हामीसँग बदला लिएर हुँदैन।’



बानेश्वरमा मंगलबार भएको माधवकुमार नेपाल पक्षीय भेलामा सहभागी सांसद झाँक्रीले स्पष्टीकरणबारे आफूहरूले मिडियाबाटै थाहा पाएको बताइन्। आधिकारिक पत्र आइनसकेको र प्रधानमन्त्रीलाई विश्वासको मत दिएकै आधारमा कारबाही गर्न मिल्ने नमिल्ने सर्वोच्च अदालतले नै व्याख्या गरिसकेको बताइन्।

उनले आफूहरू लोकतन्त्र, संविधान र व्यवस्था बचाउनका लागि लडेको र अब यसकामाथिको स्पष्टीकरणका लागि खण्डन गर्ने बताइन्। ‘अब कहीँ कानुनी रुपमा लडाइँ लड्नुपर्ने रहेछ भने दुई लाइनको स्पष्टीकरण पनि दिन्छौं। तर, यो स्पष्टीकरण हामीलाई सोध्नुपर्ने कुरै होइन’, झाँक्रीले भनिन्।

सम्बन्धित समाचार