नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।

नेकपा एमालेको माधव नेपाल समूह केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत निकट पुगेको बताइन्छ । यससँगै अध्यक्ष केपी शर्मा ओली बिनाको पार्टी बनाउन सकिने विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदसँग वरिष्ठ नेता नेपालले मंगलबार गरेको छलफलमा सांसदहरुले यस्तो सुझाव दिएका हुन् ।
केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले केही दिन पर्खिए केन्द्रीय कमिटी र संसदीय दलमा समेत आफूहरुको बहुमत पुग्ने र साविकको एमालेमै अध्यक्ष ओलीलाई हटाउन सकिने विषयमा छलफल भएको जानकारी दिए। ‘१५ दिनभित्र एमालेको केन्द्रीय कमिटीमा बहुमत पुग्ने, संसदीय दलमा पनि बहुमत पुग्ने भएकाले त्यसबाट ओलीलाई हटाएर ओलीबाहेकको पार्टी गठन गर्ने भन्ने सुझाव आएको छ,’ उनले भने ।
सांसद विरोध खतिवडाले आफूहरुसँग ओलीपक्षबाट १४ जना सांसद थपिएको दावी गरे । उनले भने, ‘हिजो मतदान गरेका साथीहरु देखिहाल्नु भयो, अरु पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ ।’ उता ओली पक्ष पनि माधव नेपालबाहेकको एमालेको कल्पना गरिरहेको छ ।
