नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

सर्वोच्च अदालतको परमादेशसँगै केपी ओलीलाई सत्ताबाट निकाल्न सफल भएका गठबन्दनका नेताहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि बदला लिने मनस्थितिमा छन् । एमालेलाई आधिकारिक रूपमा नफुटाएसम्म राष्ट्रपतिविरूद्धको अविश्वासको प्रस्ताव पारित नहुने भएपछि अध्यादेश ल्याएरै भए पनि एमालेलाई फुटाउने तयारी थालिएको स्रोतले बतायो । यसो हुँदा एमालेका माधव नेपाल समूहको पनि सेफ ल्याण्डिङ हुने र राष्ट्रपतिलाई पनि पदबाट हटाउन सकिने भएकोले भित्रभित्र यसको तयारी भैरहेको बुझिएको छ ।
एमाले विवाद जारी रहेको अवस्थामा ओली पक्षका केही सांसद्हरूले नेता नेपाललाई साथ दिइरहेका छन् । यस्तो अवस्थामा नेपाल पक्षको पहिलो प्रयास अध्यादेशविनै पार्टी फुटाउने रहन्छ । केन्द्रीय कमिटी र संसदीय दलमा बहुमत जुटाएर पार्टी फुटाउन उनीनिकट नेताहरूले आग्रह गरिरहेका छन् । यसमा ओली पक्षबाट आएका किसान श्रेष्ठले पनि पार्टी फुटाउने अवस्थामा आफूले ओली पक्षका कम्तिमा १५ सांसद् तान्न सक्ने बताउने गरेका छन् । यस्को सम्भाव्यताबारे नेपाल समूहले अध्ययन गरिरहेको छ ।
यता पछिल्लो समय भएको ध्रुवीकरणबाट उक्सिएमा माधव नेपालले पार्टी फुटाउने भन्दा पनि बहुमत जुटाएर केपी ओलीविनाको एमाले हाक्ने सपना बाड्न थालेका छन् । तर नेपालको सो सपनामा एमाले कार्यदलमा रहेका दोस्रो तहका नेताहरू बाधक देखिएका छन् । उनीहरूले न त ओलीविनाको एमाले सम्भव छ, न त नेपालविनाको एमाले सम्भव छ भनेर पार्टीलाई एक बनाउन दवाव दिइरहेका छन् ।
यस्तै अवस्था ओली समूहमा पनि देखिएको छ । ओली समूहका दोस्रो तहका नेताहरूले पनि केपी ओलीलाई पार्टी एकताको प्रयास गर्न दवाव दिइरहेका छन् । त्यसैले हिजोको केन्द्रीय कमिटी बैठकमा केपी ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष मान्न तयार रहेको बताएका थिए । तर ओलीले नेपाल समूह सहमतिको लागि तयार नहुने भएकोले कारबाहीको विकल्प नभएको दाबी गरेका थिए ।
ओलीले नेता नेपालले कांग्रेस र माओवादीलाई एमाले फुटाउनेदेखि राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्मको कसम खाएको दाबी गरेका थिए । त्यसको लागि सरकारले अध्यादेश ल्याउने तयारी गरेको ओलीको आरोप थियो । ओली पक्षले नेपाल समूहलाई फकाउने र तर्साउने रणनीति अवलम्बन गरेको देखिन्छ ।
ओलीकै आशंकालाई बल पुग्ने गरी नेपाल समूहले सरकारमा सहभागि हुने तयारी भित्रभित्र थालेको छ । साथै प्रचण्ड र देउवासँगको भेटमा नेता नेपालले पार्टी फुटाउने हैसियत बनाउन नसकेमा अध्यादेश ल्याएर पार्टी फुटाउने वातावरण बनाइदिन पनि आग्रह गर्ने गरेका छन् । यसरी हेर्दा माधव नेपाललगायतका गठबन्धनका नेताहरू एमाले फुटाउने र राष्ट्रपतिलाई पनि महाअभियोग लगाएर बदला लिन भित्रभित्र तयारी थालेको अनुमान लगाउन सकिन्छ ।
