धन लामा
काठमाडौं, ७ साउन ।
२०८औं आदिकवि भानुभक्त आचार्यको जन्म दिवसको अवसर पारेर अमेरिकाको कनेक्टिकटमा गायक तथा संगीतकार केशव शर्मा दाहालले ‘भानु तिम्रो रामायणले मैले राम जानें’ बोलको भजन गीतको लोकार्पण गरेका छन् । उक्त गीतको रचना कवि तथा गीतकार धन लामाले गरेका हुन् । गीतले नेपाली भाषा साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको योगदान तथा नेपाली समाजमा रामायणले पुर्याएको अध्यात्मिक जागरणलगायत रामायणको सार बोकेको छ ।
प्रस्तुत गीतमामा चन्दु गोर्खालीको सङ्गीत संयोजन रहेको छ भने केशव शर्मा दाहाल तथा विनुसा राईले स्वर दिएका छन् ।
गीतकार धन लामाका अनुसार प्रस्तुत गीति भजनमा राम र रामायणलाई बिम्बात्मक रूपमा प्रयोग गरिएको छ । भानुलाई यहाँ भक्ति भजनमार्फत गुरुको रूपमा प्रतिबिम्बित गरिएको हो । उनी यसका योग्य छन् । अस्तित्व निःशब्दको विश्वविद्यालय हो । तर त्यसतर्फको यात्रा शब्दलाई सारथि बनाएर गर्दा सहज हुन्छ । उनी थप्छन् ‘भक्तिमा यस्तो अवस्था पनि आउँछ, जहाँ शब्द पनि छुट्छ र भाव मात्र बाँकी रहन्छ । त्यही भावको आकाशमा साँचो रामको दर्शन हुन्छ । यहाँ राम भन्नाले हामी हरेकको हृदयमा विराजमान राम भन्ने बुझ्नु पर्दछ ।’
प्रस्तुत गीति भजन यो लिंकमा सुन्न सकिने छ- https://youtu.be/oUQaEfMnTbM