नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ साउन ।

निर्वाचन आयोगले जसपाका दुबै पक्षलाई आगामी साउन ११ गते निर्वाचन आयोगमा बोलाएको छ। कार्यकारिणी समितिका सदस्यसहित उपस्थित हुन आयोगले इजलासले आदेश दिएको हो । पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित ११ गते आयोगमा उपस्थित हुन सूचित गरेको हो ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए । आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएन । आयोगले पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो ।
५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरेको छ । बहुमत यादव पक्षसँग रहेकोले आधिकारिकता पनि यादव पक्षले नै पाउने सम्भावना रहेको छ ।
