प्रचण्डको अभिव्यक्तिप्रती भीम रावलको आपत्ति, फर्काए यस्तो जवाफ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रती आपत्ति जनाउँदै एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।

रावलले शनिबार राती विज्ञप्ति जारी गर्दै गठबन्धन सबैको आ–आफ्नो स्वार्थमा बनेको थियो भनेका छन् । माओवादी अध्यक्ष प्रचण्डले भीम रावल नपत्याउदो ढंगले ढलेको बताएका थिए । त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेर बहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको बताएका छन् ।



रावलले भनेका छन्- ‘प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म ‘ढलेको’ होइन, नेकपा एमालेलाई ढाल्ने षडयन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको हुँ। एमसीसी, नागरिकता, लिम्पियाधुरा-लिपुलेक-कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?’

रावलले गठबन्धन प्रतिनिधि सभाको पुनःस्थापनाको लागि र त्यस क्रममा देउवालाई प्रधानममन्त्री बनाउन भएको उल्लेख गरेका छन्। देउवाको स्वार्थ प्रधानमन्त्री हुने, प्रचण्डको स्वार्थ आफ्ना पार्टीका मानिसलाई मन्त्री बनाउने, उपेन्द्र यादवको स्वार्थ महन्थ ठाकुरसँगको संघर्षमा जित हासिल गर्ने र माधवकुमार नेपालको स्वार्थ पार्टीमा स्वेच्छाचारी क्रियाकलापलाई पराजित गर्ने रहेको उनले लेखेका छन्। ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरु कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्’, उनको भनाइ छ।

सम्बन्धित समाचार