नवकान्तिपुर संवाददाता
काठमाडौं, १० साउन ।

पाँच दलीय गठबन्धनको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पनि सहभागी हुन थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएको दुई साता हुन लाग्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकिरहेका बेला पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बसेको हो। बैठकमा सरकारको आगामी रणनीति, मन्त्रिमण्डल विस्तारसहितका विषयमा कुरा भएको बताइएको छ।
आजको बैठकमा नेता नेपालको सहभागिताले एमाले एकतामा थप प्रश्न उठाएको छ। आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई कोटेश्वर पुगेर भेटेका थिए। दाहालसँगको कोटेश्वर वार्तापछि नेता नेपाल बालुवाटार छिरेका हुन्। यसअघि नेपालले पाँच दलीय गठबन्धन छाडेका थिए। उक्त गठबन्धनको यसअघिको बैठकमा उनले आफूनिकट नेता विजय पौडेललाई पठाएका थिए। तर आज उनी आफैँ बालुवाटार छिरेका हुन्।
नेता नेपाललाई सरकारमा आउन प्रधानमन्त्री देउवा र प्रचण्डले फकाइरहेका छन्। उनीहरुले दल विभाजनसम्बन्धी कानुन खुकुलो बनाइदिने वाचा गरेर नेपाललाई सरकारमा डाकेका हुन्। सो बाचापछि नेता नेपालले सरकारमा सहभागि हुने र मन्त्रीको नाम देउवालाई दिने भएका छन् ।
आजको बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी सहभागि थिए। बैठकमा सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको एक नेताले बताएका छन्।
