निर्मला पन्तको दोषी पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिए।

निर्मलाको हत्या भएको तीन वर्ष बितिसक्दा पनि हत्यारा पत्ता नलागेको सन्दर्भमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिए । त्यसबखत प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिए ।



प्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको हिजो साउन १० गते ३ वर्ष पूरा भएको छ । विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका-२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन् । जघन्य अपराध भएको तीन वर्ष बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसकेको तथा दोषी पत्ता लाग्न सकेको छैन ।

सम्बन्धित समाचार