नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पार्टी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता पाएपछि अध्यक्ष यादवले आज केन्द्रीय कार्याकारिणी समितिको बैठक बोलाएका हुन्। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने नेता महेन्द्रराय यादवले बताए।
आजको बैठकले संसदीय दलको विधान पारित गर्ने र आधिकारिकता पाएसँगै पार्टी कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने नेता यादवले बताए। ‘जसपा एक भएपनि संसदीय दलको विधान तयार हुन सकेको थिएन, त्यो विधान कार्यकारिणी समितिमा छलफल गरी पारित गर्नुपर्नेछ। पार्टीको आधिकारिकता पाएपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुनेछ,’ यादवले भने।
कार्यकारिणी समितिको बैठक सकिएपछि संसदीय दलको बैठक बस्ने पनि नेता यादवले जानकारी दिए। आजै बस्ने संसदीय दलको बैठकले सरकारमा जाने मन्त्रीको विषयमा टुंगो लगाउने उनले बताए। जसपाको आधिकारिकता पाएको उपेन्द्र पक्षमा ३४ जना कार्यकारिणी समिति सदस्य र २२ जना सांसद पुगेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा जसपाको दुवै समूहले पक्षमा मतदान गरेको थियो। तर, आधिकारिकताको मुद्दा निर्वाचन आयोगमा विचाराधीन रहेका कारण सरकारमा जाने निर्णय भने भएको थिएन।
