नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ साउन ।

सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलवार बसेको बैठकले गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गण्डकी प्रदेशको प्रदेश प्रमुख रहेका शेरचनलाई केपी ओली सरकारले वैशाख २० गते हटाएर सीता पौडेललाई प्रदेश प्रमुख बनाएको थियो ।
शेरचन माओवादीको सिफारिसमा प्रदेश प्रमुख बनेका हुन् । लुम्बिनीमा धर्मनाथप्रसाद यादव प्रदेश प्रमुख छन् । गुरुङ कांग्रेसका पुराना कार्यकर्ता हुन् । उनी यसअघि संविधानसभा निर्वाचनमा समानुपातिक सूचीमा परेका थिए । त्यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा विश्व पौडेल नियुक्त भएका छन् ।
