
निर्वाचन आयोगले उपेन्द्र यादवलाई आधिकारिकता दिएपछि जीवनकै उत्तरार्धमा रहेका महन्थ ठाकुर लामो राजनीतिक जीवनको सवैभन्दा सकसपूर्ण समयमा आइपुगेका छन् । राजनीतिक शक्ति र पार्टीमा हैसियत गुमाएपछि उनका निकट मानिने नेताहरू पनि रातारात विपरीत खेमामा पुगेका छन् । साथमा रहेका केही नेताहरू पनि कति बेला कुन पार्टीको कुन खेमामा पुग्ने हुन् टुङ्गो छैन । ठाकुरको यो अवस्थालाई उनका पूर्व सहकर्मी प्र्धानमन्त्री शेरबहादुर देउवा मात्र होइन, निवर्तमान सहकर्मी उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले पनि नजिकबाट नियालिरहेका छन् । विगतलाई भुलेर सहकर्मीहरूले ठाकुरलाई राजनीति संक्रमणबाट कसरी अवतरण गराउने भन्ने विषयमा छलफल भएको बुझिएको छ ।
ठाकुर मात्र होइन, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको हालत पनि उस्तै छ । पछिल्लो समय इमानको राजनीतिमा अडिग रहेका नेपाल पनि एमालेमैं रहन सक्ने अवस्थामा छैनन् । एमालेकै सरकार ढालेर कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन सघाएकोले ओलीले उनलाई राजनीतिक साथ दिने देखिँदैन । पछिल्लो शक्ति सन्तुलनलाई मध्यनजर गर्दै ओलीले नेपाललाई फकाएजस्तो गरे पनि मौका पाउनासाथ भड्खालोमा हाल्न पछि पर्दैनन् भन्ने कुरा माधव नेपालले पनि बुझेका छन् । त्यसैले पछिल्लो समय उनी एमालेमा ओलीसरह समान हैसियत खोजिरहेका छन् ।
तर नेपाललाई ओलीले समान हैसियत दिने कल्पना नै गर्न सकिँदैन । फलतः नेपाललाई पनि एमालेको विकल्प खोज्नुपर्ने दवाव छ । तर वर्तमान हैसियतमा उनले न त पार्टी फुटाउन सक्छन् , न त नयाँ पार्टी खोलेर संसद् पद नै परित्याग गर्न सक्छन् । संसद् पद परित्याग गर्दा देशकै राजनीतिक शक्ति सन्तुलन विग्रने भएकोले सत्तारूढ गठबन्धनले पनि एमाले र जसपा विवादलाई नजिकबाट नियालिरहेको छ ।
माधव र महन्थ दुवैलाई जोगाउने अस्त्र–अध्यादेश
महन्थ ठाकुर पक्षले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर आफू ओलीको पकेटको मान्छे नभएको सन्देश दिएका थिए । सो प्रकरणपछि पूर्व सहकर्मी महन्थलाई देउवाले हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ । त्यतिमात्र होइन, यादव पक्ष सहमत भएमा देउवा ठाकुरलाई बचाउन गठबन्धनकै सहमतिमा अध्यादेश ल्याएर ठाकुरलाई गुन लगाउन चाहन्छन् । तर त्यसमा माधव नेपाल पनि पार्टी फुटाउन सहमत हुनुपर्नेछ । माधवले पनि एमालेमा रहन नसक्ने निष्कर्ष निकालेमा र गठबन्धनले पनि साथ दिएमा अध्यादेश ल्याएर माधव र महन्थलाई जोगाउन देउवा तयार रहेको स्रोतको दाबी छ ।
यता उपेन्द्र यादव पनि महन्थ सँगसँगै रहने अवस्था नरहे पनि उनी पतन नै होउन् भन्ने कुविचार नरहेको बताउने गरेकोले अध्यादेशमार्फत् माधव र महन्थ सांसद्सहित नयाँ दल खोल्न सक्ने अवस्था बनाइने अनुमान गर्न सकिन्छ । त्यस्तो अवस्थामा गठबन्धनमा ठाकुरको पार्टी पनि सहभागी हुने र सरकारलाई दुई तिहाइ समर्थन जुटाएर राष्ट्रपति समेत फाल्न सक्ने विषयलाई गठबन्धनले कल्पना गरेको छ । साथै निर्वाचनसम्म मोर्चाबन्दी गरेर केपी ओलीलाई साइजमा ल्याउने ग्राण्ड डिजाइन भित्रभित्रै बनेको बताइन्छ ।
अध्यादेश आए आगो ओकल्ने चेतावनी
त्यसो त सरकारले एमाले फुटाउने मनासायका साथ अध्यादेश ल्याएमा देशभर आलो बल्ने चेतावनी केही दिन अगाडि एमाले नेता महेश बस्नेतले दिएका थिए । हिजो केपी ओलीले अध्यादेश ल्याउँदा बचाउ गर्ने बस्नेत नै आज अध्यादेश ल्याउँदा आगो बाल्ने कुरा गरेकेमा सत्ता पक्षलाई मन पर्ने कुरै भएन । तर पनि उपयुक्त वातावरण भएपछि अध्यादेश ल्याउनुपर्ने विषयलाई गठबन्धनले मनन् गरेको देखिन्छ । माधव नेपाललाई एकताकै प्रयास गर्न लगाउने र महन्थलाई पनि तत्काल जसपा नछोड्न लगाउने र उपयुक्त वातवरण बनेपछि अध्यादेश ल्याउने तयारी भएको बुझिन्छ ।
उपयुक्त समय भनेको कहिले हो त ?
देशमा कोरोना संक्रमण दर निरन्तर उकालो लागिरहेको छ । साथै अन्यभन्दा निकै संक्रामक मानिएको कप्पा भेरियन्ट पनि नेपालमा फैलिसकेको पुष्टि भैसकेको छ । त्यसैले पनि केही दिन कडा निषेधाज्ञा गरेर कोरोना नियन्त्रणको प्रयास गर्नुपर्ने अवस्था छ । कतै गठबन्धनले सोचेको उपयुक्त समय भनेको त्यही निषेधाज्ञाको समय त होइन ? आशङ्का गर्न सकिन्छ ।
