नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेता कार्यकर्ता र सांसदहरूको सल्लाहअनुसार नै आफू चल्ने बताएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिने बेला आफ्नो पक्षमा उभिएका २२ जना सांसदसँगको सामूहिक छलफलमा नेपालले दोस्रो अध्यक्षको प्रस्ताव आएको बताएका थिए । केपी ओलीको विश्वास आफूलाई नरहेको भन्दै माधव नेपाल पदलोलुप हो भनेर देखाउन यस्ता प्रस्ताव ल्याएको हुनसक्ने उनको आशंका थियो ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने पहल गर्नेबारे पनि छलफल भएको बुझिएको छ । नेपाल समूहका नेता मेटमणि चौधरीले संसदीय दलमा पनि बहुमत पुर्याउने बताए ।
‘ओलीलाइ संसदीय दलको नेताबाट हटाउछौँ,’ उनले भने, ‘अझै केही दिन हेर्छौँ । संसदीय दलमा हामीले बहुमत पुर्याएर उहाँलाई हटाउछौँ । हाम्रो पक्षमा बहुमत पुग्छ,’ उनले भने,’सरकारमा जाने विषयमा पनि हामी एकमत छौँ ।’
