नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ साउन ।

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आज सुनुवाइ हुँदै छ। नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन्।
गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ।
उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।
