नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सत्तारुढ गठबन्धनका नेताहरू आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका छन् । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालय वाँडपफाँडमा सहमति जुटेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएकाे हाे ।
मन्त्रिपरिषद्मा कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ७ र जनता समाजवादी पार्टीलाई ७ मन्त्रालयको जिम्मेवारी दिइनेछ । माधव नेपाल समूह भने सरकारमा सहभागी नहुने भएको छ । कांग्रेस र माओवादीबाट २-२ जना मन्त्री भैसकेकोले ५-५ मन्त्री थपिने छन् भने जसपाबाट ७ जना मन्त्री बन्ने भएका छन् ।
तीन दलबाटै एक-एक जना उपप्रधानमन्त्रीसमेत बन्ने भएका छन् । कांग्रेसबाट सुजता कोइराला, माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने चर्चा छ ।
सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नआउने भनि भनिसकेको छ ।
