नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ साउन ।

माओवादीका पूर्वसांसदले पुर्नवहालीको माग गर्दै दायर रिट निवेदनमाथिको सर्वोच्च अदालतमा आज पनि सुनुवाई भएन । रिट निवेदनको सुनुवाई आजको लागि पनि स्थगित भएको हो ।
बिहीबार हेर्न नभ्याइनेमा परेको रिटको सुनुवाइ अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो । चारै जनाको निवेदनको पेसी पाँचौं, छैटौं, सातौं र आठौं नम्बरमा परेपनि रिट निवेदक पक्षका कानुन व्यवसायीकै मागअनुसार पेसी स्थागित गरिएको सर्वोच्च अदालतले जनाएको छ । ।
नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीमा परेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु साहले आफूहरू नेकपा माओवादी केन्द्रमै रहेकाले सांसद पदमा पुनःवहाली गर्न माग गर्दै १३ साउनमा रिट दर्ता गरेका थिए । चारैजना पूर्व सांसदले यसअघि माओवादीविरुद्ध निर्वाचन आयोग पनि निवेदन दिएका थिए ।
माओवादीको वैधानिकता सकिएको भन्दै पार्टीको दर्ता खारेज गर्न माग गरिएको निवेदन आयोगले अस्वीकार गरेपछि उनीहरु सर्वोच्च अदालत पुगेका हुन । त्यस्तै बिहीबार दीपककुमार कार्कीको एकल इजलासमा परेको रिट हेर्न नभ्याइने सूचीमा परेको थियो ।
