नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ साउन ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका छन् । माओवादी केन्द्र र जसपालाई मन्त्रीको लिष्ट मागिसकेका देउवाले आफ्नो पार्टीबाट पनि मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको बताइन्छ ।
देउवाले आफ्नो पार्टीभित्रको सन्तुलन मिलाउँदै रामचन्द्र पौडेल समूहलाई २ र कृष्णप्रसाद सिटौला समूहलाई एक मन्त्री दिने भएका छन् । सात मन्त्री पाएको कांग्रेसबाट २ जनाले मन्त्रीको शपथ खाइसकेका छन् । बाँकी पाँच मन्त्रीमा पौडेललाई २ र सिटौलालाई एक मन्त्रालय दिएपछि वाँकी रहने २ मन्त्रालयमा देउवाले आफूनिकटलाई पठाउन चाहेका छन् । रामचन्द्र पौडेलले भने देउवासँग तीन मन्त्रालय मागेको बुझिएको छ ।
पौडेलले आफ्नो समूहबाट दिलेन्द्र बढू र तेजेन्द्रलाल चौधरीलाई मन्त्री बनाउने तयारी गरेका छन् । तर यो समूहबाट प्रकाशमान सिंह र सुजता कोइरालाले पनि मन्त्री बन्न दौडधुप गरिरहेका छन् । देउवाले आफ्नो समूहलाई ३ मन्त्रालय दिएको खण्डमा सुजतालाई अवसर दिने पौडेलको तयारी रहेको छ ।
त्यसैगरी कृष्णप्रसाद सिटौलाले आफ्नो भागमा परेको एक मन्त्रालयमा भीमसेनदाश प्रधानलाई अवसर दिने तयारीमा छन् । यो समूहबाट गगन थापा र उमाकान्त चौधरीले पनि मन्त्री बन्न दौडधुप गरिरहेका छन् ।
त्यसैगरी प्रधानमन्त्री देउवाले आफ्नो भागमा परेको वाँकी २ मन्त्रालयमा नारायण खड्का र पुष्पा भुसाललाई अवसर दिने भएका छन् । देउवा खेमाबाट पनि मन्त्री बन्न चाहनेहरुको लिष्ट लामै भएपनि खड्का र भुसालले बाजी मारेको बताइन्छ । माओवादी र जसपाबाट मन्त्रीको लिष्ट पाएमा आजै मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा देउवा रहेका छन् ।।
