नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आर्जु राणाले एक प्रसंगमा भनेकी थिइन्– कुनै दिन देउवाजी रिसाउनुभएन भने उहाँलाई के भयो भनेर चिन्ता लाग्छ । उनको यो भनाइले प्रष्ट पार्छ कि देउवा नरिसाएको दिनै हुँदैन । उनको रिस घरमा मात्र होइन, बेलाबेलामा पार्टी र सरकारको कामका सिलसिलामा पनि देखिन्छ । उनको रिसको सामाना कतिमय मिडियाकर्मीले पनि गर्नुपरेको छ । कतिपय अन्तर्वार्तामै देउवाले रिस थाम्न नसकेका दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । शनिबार भने गठबन्धनकै नेताहरूले देउवाको रिसको सामना गर्नुपर्यो ।
प्रधानमन्त्रीमा नियुक्त भएको लामो समयसम्म पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेपछि देउवा गठबन्धनका नेताहरूसँग रूष्ट बनेका छन् । शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपाका शीर्ष नेताद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छुट्टाछुट्टै भेटेका देउवाले २ दिनभित्र मन्त्रिमण्डललाई पूर्णता दिने वातावरण नबनाए आफैं राजीनामा दिने चेतावनी दिएको बालुवाटार स्रोतले बतायो ।
देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्डले वार्ताको सुरूमै देउवाको रिसको सामना गर्नुपर्यो । कुराकानीको सुरूवातमै देउवाले आइतबारसम्म मन्त्रीको लिष्ट नदिए आफैंले राजीनामा दिने चेतावनी दिए । देउवा रिसाउन थालेपछि एकछिन प्रचण्डलाई फकाउन हम्बेहम्बे परेको बताइन्छ । उनले माधव नेपाललाई दोष थुपार्र्दै देउवालाई शान्त बनाउने प्रयास गरे । ‘माधवजीको समस्या तपाई हामीले नबुझे कसले बुझ्छ ? उहाँलाई पर्खिन खोज्दा ढिलाई भएको हो । मन्त्रीको नाम दिन मलाई कुनै समस्या छैन । कांग्रेस र माओवादीका मन्त्री मात्र समावेश गरेर मन्त्रिमण्डल विस्तार गर्दा राम्रो सन्देश जाँदैन’ प्रचण्डले देउवालाई भने । प्रचण्डले सोमबारसम्म जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने प्रयास गरौं भनेपछि देउवा केही शान्त देखिए ।
शनिबार साँझ नै देउवाले जसपाका शीर्ष नेताद्धय भट्टराई र यादवलाई बालुवाटार बोलाएर मन्त्री छान्न किन ढिला गरेको भन्दै जङ्गिए । यादवले मन्त्री छान्न २-४ दिन लाग्नसक्ने बताएपछि देउवाको रिस पुनः थामिएन । ‘तपाईं नै बन्नुस् प्रधानमन्त्री, तपाईं नै चलाउनुस् सरकार’ भन्दै देउवा पुनः झोक्किए । लामो समयसम्म मन्त्रिमण्डल विस्तार हुन नसक्दा बाहिर राम्रो सन्देश नगएको भन्दै देउवाले मुन्टो बटारेपछि भट्टराईले अब ढिलो गर्न हुँदैन भन्दै प्रचण्डले सोमबारसम्म मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गर्न आग्रह गरेको सुनाए । यादवले पनि अन्य दलले मन्त्रीको नाम टुङ्गो लगाए जसपाको कारण मन्त्रीमण्डल विस्तार नरोकिने बताए । देउवाले आइतबार साँझसम्म जसरी मनि मन्त्री बनाउनुपर्नेहरूको लिष्ट दिन भन्दै सोमबार जसरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने बताएका थिए ।
दोधारका बीच सरकारमा सहभागी हुने तयारीमा नेपाल समूह
पार्टी एकताको पहल भैरहेको भन्दै सरकारमा सहभागी हुन हिचकिचाएको माधव नेपाल समूह गठबन्धनका नेताहरूको लगातारको आग्रहपछि सरकारमा सहभागी हुने भएको छ । तर उसले पार्टी एकताको सम्भावनालाई पनि कायमै राख्दै गैह्रसांसद्लाई सरकारमा पठाउने भएको छ । आफ्ना पार्टी कमिटीमा नभएका तर शुभेक्षा राख्ने आफूनिकटका तीन स्वच्छ व्यक्तित्वलाई सरकारमा सिफारिस गर्ने तयारीमा नेपाल रहेका छन् । केही समयपछि विकसित घटनाक्रमलाई हेरेर थप निर्णय लिने नेता नेपालले बताएका छन् । पार्टी फुटे पनि त्यसको अपजस आफ्नो भागमा नपरोस् भन्नका लागि नेपालले यस्तो जुक्ति लगाएको बताइन्छ ।
नेपाल समूहले तत्काललाई ३ मन्त्रालय मात्र मागेकोले सोहीअनुसार मन्त्रालयको भागवण्डा मिलाइएको छ । जसअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित ७ मन्त्रालय र एक राज्यमन्त्री, माओवादी र जसपाले ६–६ मन्त्री र एक एक राज्यमन्त्री पाउने भएका छन् ।।
