नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ साउन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने बताएका छन् । आज(आइतबार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा सदस्यहरूलाई ब्रिफिङ गर्दै अध्यक्ष प्रचण्डले माधव समूह सरकारमा भन्दा पनि पार्टी एकता प्रक्रियामा जान लागेको बताए ।
अध्यक्ष प्रचण्डले नेपाल समूह सरकारमा नजाने भएपछि मन्त्रिपरिषद विस्तार प्रक्रियामा अझ केहि दिन लाग्ने धारणा व्यक्त गरे । उनले यस विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र जसपका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गर्ने बताए । त्यस्तै माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले गठबन्धन र सरकारले गरिरहेका कामहरूबारे अध्यक्ष प्रचण्डले ब्रिफिङ गरेको जानकारी दिए ।
यस्तै बैठकले केन्द्रीय समितिको बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ। साउन २० गतेदेखि बस्ने भनिएको बैठक साउन ३० गतेका लागि सारिएको हो । बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएका छन् ।
बैठकअघि अध्यक्ष प्रचण्डले नेता माधव नेपालसँग कोटेश्वरमा भेटवार्ता गर्दै सरकारमा सहभागी हुन आग्रह गरेका थिए । तर, नेता नेपालले तत्काल सरकारमा सहभागी नहुने बताएका थिए । त्यस्तै प्रचण्डले भने ‘माधवजी एमाले एकता प्रयासमा लागिरहनु भएको र हामी पनि एमाले नफुटोस् नै भन्न चाहन्छौँ, एमाले फुट्दा कम्युनिस्ट आन्दोलनलाई पनि केही न केही क्षति हुन्छ।’
