श्रेष्ठ र महराको टकरावले अफ्ठ्यारोमा प्रचण्ड, सरकारमा उपप्रधानमन्त्री पद नै नराख्न देउवालाई दवाव

नेकपा माओवादी केन्द्रबाट उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन शीर्ष नेताहरुले नै तीब्र चाहना व्यक्त गरेपछि मन्त्री छान्न प्रचण्डलाई थप सकस परेको छ । स्थायी कमिटी सदस्यद्धय नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महर दुबैले माओवादी केन्द्रबाट सरकारको नेतृत्व गर्ने दाबी गर्न थालेपछि प्रचण्डले मन्त्री छान्न आजलाई बोलाएको स्थायी कमिटी बैठक नै स्थागित गरे ।

स्थायी कमिटीमा रहेर पनि अहिलेसम्म मन्त्री बन्न नपाएका देवेन्द्र पौडेललाई मन्त्री बनाउन प्रचण्ड सकारात्मा छन् । तर श्रेष्ठ र महराको लडाइँले अर्का स्थायी कमिटी सदस्य देव गुरुङले मन्त्री बन्ने अवसर पाउने वातावरण बनेको माओवादीमा चर्चा छ । श्रेष्ठ र महरालाई रोक्नकै लागि प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारमा उपप्रधानमन्त्री पद नराख्न दवाव दिएको स्रोतको दाबी छ ।



यसअघि उपप्रधानमन्त्री भैसकेका श्रेष्ठ र सभामुख भैसकेका महरा मन्त्री मात्र बन्न सरकारमा जान मिल्दैन । वरु देव गुरुङलाई माओवादीको नेतृत्व गर्नेगरी सरकारमा पठाउन प्रचण्ड सकारात्मक बनेको बताइन्छ । यद्दपी श्रेष्ठ र महराले दाबी भने छोडेका छैनन् ।

यता प्रधानमन्त्री देउवा भने गठबन्धनको किचलोकै कारण प्रधानमन्त्री बनेको ३ साता वितिसक्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेको भन्दै गठबन्धनका नेताहरुसँग रुष्ठ बनेका छन् । उनले गत शनिबार प्रचण्ड, डा बाबुराम भट्टराई र उपेन्द्र यादवलाई बालुवाटारमा बोलाएरै मन्त्रीको लिस्ट दिन आजसम्मको अल्टिमेटम दिएका थिए । तर यसअवधिमा मन्त्रीको नाम टुंगो लगाउन नत माओवादी सफल भयो न त जसपा नै ।

त्यसैगरी कहिले सरकारमा सहभागी हुने त कहिले सहभागी नहुने बताउँदै आएको माधव नेपाल समूहको दोधारे नीतिले पनि मन्त्रिपरिषद् विस्तारमा बाधक बनेको छ । मन्त्री छान्न बोलाइएको माओवादी केन्द्रको बैठक नै अनिश्चितकालको लागि स्थगित हुँदा मन्त्रीपरिषद् विस्तार तप केही दिनलाई टरेको बताइन्छ ।

सम्बन्धित समाचार