नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित लिलले फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको खेलमा पीएसजी लिलसँग १-० ले स्तब्ध हुन पुग्यो ।
ब्लुमफिल्ड स्टेडियमा भएको निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ४५ औं मिनेटमा सेकाले गोल गर्दै लिललाई अग्रता दिलाए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल नहुँदा सेकाको निर्णायक गोल नै लिललाई उपाधि जिताउन पर्याप्त रह्यो । यद्यपि दोस्रो हाफमा दुवै टोलीले केहि गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए ।
फ्रेन्च सुपर कपको उपाधि पहिलो पटक लिलले आफ्नो पोल्टामा पारेको हो । १० पटक फ्रेन्च सुपर कप जितेको पीएसजी यसपटक भने उपविजेतामा नै सिमित भयो ।