नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने बताएका छन् । आज(सोमबार) स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् ।
त्यस्तै उनले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले चीनले अनुदानमा दिएको १६ लाख र जापानले दिएको १६ लाख खोप दुई साताभित्र आइपुग्ने र भुटानले दिएको ३ लाख डोज खोप पनि छिट्टै आउने बताए । यस्तै श्रेष्ठले मोर्डनाको ४० लाख खोप खरिदका लागि विश्व बैंकमार्फत रकम भुक्तानी जानकारी दिए ।
त्यसैगरी राज्यमन्त्री श्रेष्ठले मन्त्रीको कार्यकालभर आफू संलग्न भएका सबै व्यावसायिक संघ संस्थामा संलग्न नरहने दाबी गरे ।
