नवकान्तिपुर संवाददाता
काठमाडौं, १८, साउन ।

अखिल क्रान्तिकारीले दार्चुला घटनाका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ । भारतीय ज्यादती बढेको भन्दै संगठनले त्यसको विरोधमा दूतावास अगाडि प्रदर्शन गरेको हो ।
गत शुक्रबार भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले महाकाली नदीको तुइनको लट्ठा फुस्काउँदा जयसिंह धामी नदीमा खसेर वेपत्ता भएका थिए । त्यस्तै संगठनले यस विषयमा तत्काल छानविन गरी दोषीलाई कारवाहीको माग गरेको हो । यस घटनाको विषयमा विभिन्न राजनीतिक दलले घटनालाई लिएर भारतसँग गम्भीर आपत्ति जनाएको छ ।
यस्तै यस विषयमा गृह मन्त्रालयले छानविन समिति गठन गरेको छ । छानविन समितिमा गृह मन्त्रालयका सहसचिव जर्नादन गौतम, डिआइजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका एसएसपी सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक सिडिओ ज्योत्सना भट्ट रहेका छन् ।
