नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ साउन ।

नेकपा एमालेले सर्वोच्च अदालतको सोमवारको कर्णाली प्रदेशा सांसदलाई कारवाही गर्ने पार्टीको निर्णयलाई सदर गर्ने आदेश प्रति खुसी व्यक्त गरेको छ। उक्त आदेश प्रति प्रतिक्रिया दिँदै एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आदेश न्ययोचित भएको बताए।
ज्ञवालीले अदालतको आजको आदेशबाट नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि दिएको आदेश गलत भएको पुष्टि भएको दाबी गरे। ‘आजको आदेशले पनि देउवालाई प्रधानमन्त्री बनाउन संविधानको धारा ७६ (५)को व्याख्या गलत गरेको पुष्टि भएको छ,’ उनले भने।
कर्णालीका चार सांसदको पद गयो, ‘फ्लोर क्रस’लाई अलोकतान्त्रिक भन्दै सर्वोच्चले खारेज गर्यो यसअघिको आदेश कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने बेलामा एमालेका यी चारजना सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले ‘फ्लोर क्रस’ गरेका थिए। तर, एमालेले शाही सरकारको विपक्षा मत दिने निर्णय गरेको थियो।
एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले चारैजना सांसदलाई कारवाही गरेको थियो। तर, सर्वोच्च अदालतले कारवाही गर्न नमिल्ने भन्नै उनीहरुको पद नजाने निर्णय गरेको थियो। अदालतले राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार कारबाही पार्टी केन्द्रीय कमिटीबाट हुनुपर्नेमा एमाले केन्द्रीय कमिटीले स्पष्टीकरण नसोधेको आदेशमा उल्लेख गर्दै कारबाही महाधिवेशन आयोजक कमिटीको निर्णयबाट गरिनु राजनीतिक दलसम्बन्धी ऐन प्रतिकूल हुने अदालतको ठहर गरेको थियो। उक्त निर्णयविरुद्ध ओली समूह फेरि भ्याकेट निवेदन दिएको थियो।
सोमवार भ्याकेट निवेदनमा सुनुवाई गर्दै अदालतले एमालेले यसअघि गरेको कारवाही सदर हुने आदेश दिएको हो। अदालतले ‘फ्लोर क्रस’लाई लोकतान्त्रिक पद्दती मान्न नसकिने बताउँदै कारवाही सदर गर्ने निर्णय गरेको हो।
