सरकार र पार्टी दुबैमा अवसर गुमाउँदै देउवा, माहौल आफ्नो पक्षमा भएर पनि महाधिवेशन सर्ने भएपछि तनाव

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त हुँदै गर्दा कांग्रेस अधिवेशन भदौमा सम्मन्न गर्न समय पर्याप्त थियो । सरकार र पार्टी दुबैतर्फको माहौल देउवाको पक्षमा थियो । प्रधानमन्त्रीमा नियुक्त भएसँगै संसद्मा विश्वासको मत लिएका देउवालाई झण्डै २ तिहाइ संसद्ले समर्थन जनाए । निवर्तमान प्रधानमन्त्री केपी ओलीको शैलीबाट आजित भएका राजनीतिक दलमा मात्र होइन, जनतामा पनि देउवा प्रधानमन्त्री बन्दा एक किसिमको उत्साह जागेको थियो ।

प्रधानमन्त्रीमा विश्वासको मत पाएसँगै देउवाले आफ्ना तीन प्रमुख योजनामा खोप खोप खोप रहेको भन्दै कोरोनाबाट जनतालाई जोगाउनु नै सरकारको मुख्य प्राथमिकता हुने बताएका थिए । साथै पार्टी महाधिवेशन पनि तोकिएकै मितिमा सम्पन्न गर्ने बताउँदै आएका थिए । देउवाको खोप र महाधिवेशनलाई लिएर दिएको अभिव्यक्तिले पार्टीमा मात्र नभई सर्वसाधारणमा पनि उनीप्रतिको आशा जगाएको थियो ।



तर त्यसपछिका दिनमा देउवा न त पार्टी महाधिवेशनको तयारीमा परिणममुखी काम गर्न सके, न त सरकारले गर्नुपर्ने काम नै व्यवस्थित ढङ्गबाट गर्न सके । खोपलाई प्राथमिकता दिने बताए पनि संकलन भएको खोपलाई व्यवस्थित ढङ्गबाट लगाउन नसकेको भनेर सरकारको चर्को आलोचना हुन थालेको छ । त्यतिमात्र होइन, देशभर खोपको अनियमितता भएका घटनाहरूले सरकारलाई पहिलो गाँसमैं ढुङ्गा लागेको छ । त्यसैगरी प्रधानमन्त्रीमा नियुक्त भएको ३ साता बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै जनस्तरबाट सरकारको चर्को आलोचना हुन थालेको छ ।

यसबीचमा कोरोनाको महामारीमा स्वास्थ्य मन्त्रालय खाली राख्न नहुने भन्दै राज्यमन्त्री नियुक्त गर्दा पनि देउवाले जस पाउने वातावरण बनेन । व्यवसायीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको भन्दै जनस्तरबाट मात्र नभइ गठबन्धनका नेताहरू पनि देउवासँग रुष्ट हुन पुगे । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले त यही प्रकरणलाई लिएर गठबन्धनको साथ छोड्ने चेतावनी समेत दिए । पछि देउवाले गठबन्धनको बैठकमा माफी नै माग्नुपर्ने अवस्था आयो । जेनतेन सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेर मन्त्रिमण्डल विस्तार गर्न गठबन्धनका दलहरू सहमत भएका छन् । ढिलै भएपनि राम्रा व्याक्तिहरू मन्त्रिपरिषद्मा पुग्ने आशामा जनताले सरकारका गतिविधिलाई नियालीरहेका छन् ।

यता देउवाको थाप्लोमा पार्टी महाधिवेशन पनि वैधानिक मितिमा गर्न नसकेको अपजस पर्ने भएको छ । वडा अधिवेशन र प्रदेश अधिवेशन स्थागित भएसँगै कांग्रेसको १४ औं महाधिवेशन सर्ने निश्चित भएको छ । क्रियाशील सदस्यता र समायोजनमा संस्थापन र इतरपक्षबीच सहमति हुन नसकेका कारण स्थानीय तहको अधिवेशन हुन नसकेपछि केन्द्रीय महाधिवेशन पनि प्रभावित भएको हो । कांग्रेसको महाधिवेशन सार्न कानुनले नदिने भएपनि कोरोना काललाई शून्य समय मानेर केही सयम थप गर्ने विषयमा पार्टी शीर्ष तहमा छलफल शुरु भएको छ ।

पार्टीको १४ औं महाधिवेशनको तोकिएको मिति (भदौ १६ देखि १९ सम्म) आउन एक महिना पनि बाँकी छैन । साउन १२ गतेदेखि गर्ने भनिएको स्थानीय तहको अधिवेशन क्रियाशील सदस्यता र समायोजनमा देखिएको विवादकै कारण स्थगित भएको थियो । महाधिवशेनको मिति सार्नेबारेमा केन्द्रीय समिति बैठकले औपचारिक निर्णय गर्ने तयारी गरिएको भएपनि शीर्ष नेताहरू भने तोकिएकै मितिमा निर्वाचन हुने रटान लगाउन भने छोडेका छैनन् ।

गुम्यो देउवाको अवसर
प्रधानमन्त्रीमा विश्वासको मत पाएसँगै पार्टी सभापतिमा दोहोरिन आफ्नो पक्षमा माहौल बनेको देउवाको बुझाइ थियो । विभिन्न नियुक्तिको प्रलोभन देखाएर केही नेतालाई आफूतिर तान्न सक्ने र सभापतिमा सहजै दोहोरिन सक्ने बुझाइ देउवाको थियो । त्यसैले पनि उनी भदौमैं महाधिवेशन गर्न चाहन्थे । तर पार्टीको क्रियाशील सदस्यता विवाद यति जटिल बन्यो कि देउवाले चाहेर पनि भदौमा महाधिवेशन हुुन नसक्ने अवस्था श्रृजना भयो । अब पार्टी महाधिवेशन कार्तिकमा गर्नुपर्ने आवाज उठ्न थालेको छ । कार्तिकसम्म अधिकांश स्थानमा देउवाले नियुक्तिका काम गरिसक्नुपर्नेछ । त्यसबाट केही नेताहरू खुसी भएपनि अधिकांश नेताहरू रुष्ट भैसकेका हुनेछन् । अर्थात् उनको पक्षमा बनेको माहौल बिग्रिसकेको हुने छ ।

यता रामचन्द्र पौडेल पक्षले पनि यसबीचमा महाधिवेशन सार्न नहुने बताइरहे पनि समस्या समाधानमा कुनै पहल गरेको देखिँदैन । सायद देउवाको पक्षमा माहौल बनेको बुझेर नै यस समूहले हलो अड्काउने र गोरु चड्काउने रणनीति लिएको हुनुपर्छ । अन्ततः कांग्रेसले वैधानिक मितिमा महाधिवेशन गर्न नसकेर कोरोना काललाई शून्य समय मानेर महाधिवेशनलाई अनिश्चितताको भुमरीभित्र धकेल्ने भएको छ ।

सम्बन्धित समाचार