अष्ट्रेलिया दोस्रो टी-२० खेलमा पनि बंगलादेशसँग पराजित

बंगलादेश भ्रमणमा रहेको अष्ट्रेलिया दोस्रो टी-२० खेलमा पनि पराजित भएको छ । बुधबार भएको खेलमा घरेलु टोली बंगलादेशले अष्ट्रेलियालाई ५ विकेटले पराजित गरेको हो ।

बंगलादेशको ढाकामा भएको खेलमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२१ रन बनाएको थियो । उसको लागि मिचेल मार्शले ४५ रन बनाए भने मोइसेस हेन्रिक्सले ३० रन जोडे । त्यस्तै मिचेल स्टार्क १३ रनमा अविजित रहदा एलेक्स क्यारीले ११ रन बनाए । बंगलादेशको लागि मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने शोरिफुल इस्लामको भागमा २ विकेट रह्यो ।



१२२ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको बंगलादेशले १८.४ ओभरमा ५ विकेट गुमाउदै भेट्टायो । बंगलादेशको लागि आफिफ होसेनले अविजित रहदै ३७ रन बनाए भने शकिब अल हसनले २६ रन जोडे । त्यस्तै मेहदी हसनले २३ रन बनाए भने नुरुल होसेन २२ रनमा अविजित रहे । अष्ट्रेलियाको लागि मिचेल मार्श, जोस हाजलउड, एस्टन अगर, एडम जाम्पा र एन्ड्रयु टेले समान १-१ विकेट लिए ।

जितसँगै घरेलु टोली बंगलादेशले पाँच खेलको सिरिजमा २-० को अग्रता लिएको छ । यसअघि भएको पहिलो खेलमा अष्ट्रेलिया बंगलादेशसँग २३ रनले पराजित भएको थियो । खेलको म्यान अफ दि म्याच आफिफ होसेन भए ।

 

 

 

 

सम्बन्धित समाचार