एमसीसी (कविता, अनुष्टुप छन्द)

एमसीसी छ चर्चामा विवादित भयो किन ?
रडाको जहिले सुन्ने अवस्था यो भयो किन ?

जिन्दावाद कतै नारा मुर्दावाद कतै किन ?
नेपाली जन नेतामा यस्तो बेमेल भो किन ?



स्वतन्त्र छौँ सधैं हामी पराधीन हुने किन ?
छातीमा ताक्छ रे गोली अपमान हुने किन ?

विधान उसकै चल्ने अमेरिकी ढलीमली
आमाको लुटिए मान के हुँदैन र दुर्गति ?

साम्राज्यवादको साथ अवस्था बन्छ जर्जर
उपनिवेश मौलाए देश स्वतन्त्र हुन्छ र ?

विकास कसरी होला राष्ट्रको हात हुन्न रे।
गरेको काममा केही बोल्नु सोध्नु हुँदैन रे ।।

विदेशी राष्ट्रको सेना देशकै भित्र बस्छ रे
उसको काममा औँलो उठाउनु हुँदैन रे ।

बलात्कार गरोस् सेना मुद्दा केही छुँदैन रे
मूल कानुनमा बाझे रद्द आफैँ गरिन्छ रे ।।

लेखाजोखा गरी आफैँ खर्च गर्छ भने यहाँ
हिसाब उसले गर्दा मितव्यय भयो कहाँ ?

नेपाली भूमिमा धेरै सम्पदा अनमोल छन्
संरक्षण गरी राख्न को सक्ला लुट्न सक्दछन् ।।

एक हात मिठो घाँस अर्कोमा छ छुरी भने
निर्धो प्राणी कहाँ बच्ला रेटिनेछ कसै गरी ।

सहयोग दिएँ भन्दै स्वार्थ सिद्ध गरे भने
शान्तिको धून के बज्ला रणभूमि भयो भने ।।

शक्ति राष्ट्रहरू जुध्ने युद्ध क्षेत्र बने यहाँ
नेपाली जनता हामी के बच्न सक्दछौँ यहाँ।

सिरिया, लिबियालीले भोगेथे जसरी दशा
इराकी जनता जस्तै आउने हो कि दुर्दशा ?

संस्कृति ,धर्म भाषामा विदेशी हस्तक्षेप छ
भूगोल भित्र वैरीले गिद्धे दृष्टि लगाउँछ।

एकै स्थान बसे कोही मित्र के हुन सक्छ र ?
निर्दयी सिंहले रक्षा मृगको किन गर्छ र ?

भृङ्गले रस रित्याई छोडेको वागझैँ भए
नेपाली रहने छैनौँ पहिचान सबै गए ।

भिल्लले अरुको मान कसरी गर्न जान्दछ
बाधा केही परी आए छुरी, कुठार हान्दछ ।।

स्याल, हुँडार , ब्वाँसाको सत्तामा छ ढलीमली
गिद्धको झुन्ड आशामा बसेकै छ यताउती ।

जिउ ज्यान सुरक्षाको कल्पना मात्र भो यहाँ
खेती डलरको गर्ने भ्रष्टको राज भो यहाँ ।।

राष्ट्रभक्ति छँदैछैन भ्रष्ट छन् सब रक्षक
जनता बिचरा १ हामी बनेका मूकदर्शक।

ल्याइए एमसीसी यो गलपासो हुने भयो
स्वतन्त्र राष्ट्रका साथ अक्षम्य यो प्रहार हो ।।

जन नेताहरू भिन्न मतमा भिन्नता किनरु
अप्ठेरो देखिए केही वार्ता गरे हुदैँन र ?

के हो यो कसरी आयो फाइदा धेर हुन्छ र ?
सिद्धान्त लादिए देश समृद्धितिर जान्छ र ?

हल्लीखल्ली चलेको छ जनता जान्न खोज्दछ
विदेशी जाल सिद्धान्त हो कि यो बुझ्न खोज्दछ।

सैनिक नीति सञ्जाल एमसीसी लिने किन ?
सोझा हौँ जनता हामी यही प्रश्न सबै दिन।

एमसीसी भयो प्रश्न कसले दिन्छ उत्तर
परराष्ट्र भयो मौन सरकार निरुत्तर।

चुपचाप बने विज्ञ अन्योल जनता किन ?
नीति राम्रो भए प्रस्ट बताउन ढिलो किन ?

नेपाली शिर यो उच्च स्वाभिमान छ गौरव
पुर्खाको बलिदानीमा ध्वजा उच्चो सधैँभर

गौराङ्गी राज निम्त्याई राष्ट्र कल्याण हुन्छ र ?
आफ्नै पौरखमा हामी रमाऔँ अब हुन्न र ?

 

सम्बन्धित समाचार