नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ साउन ।
किरण गजमेर चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता बनेका छन् । गजमेर कोच प्रमोद खरेलका टिम हुन् ।
किरण गजमेरले उपाधि सहित नगत २५ लाख हात पारेका छन् । उनले टीम दीपका आर्यन तामाङ, टीम राजुका तारा श्रीष मगर र टीम तृष्णाका ज्वाला राईलाई पछि पार्दै उपाधि चुमेका हुन् । किरणसँगै यी तीनैजना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् । विजेताको निर्णय एक सातासम्म दर्शकले गरेको भोटका आधारमा भएको थियो ।
किरणले उपाधि जितेसँगै टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक द भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । यसअघि ‘द भ्वाइस अफ नेपाल सिजन–२’ को उपाधि पनि टिम प्रमोदबाटै राम लिम्बुले जितेका थिए भने टिम दिपका सीडी विजय अधिकारीले ‘द भ्वाइस अफ नेपाल सिजन वान’को उपाधि जितेका थिए ।