नवकान्तिपुर संवाददाता
काठमाडौं, २५, साउन ।
स्पेनिस क्लब बार्सिलोना प्रि-सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा विजयी भएको छ। आइतबार राति भएको खेलमा इटाली क्लब युभेन्ट्स बार्सिलोनासँग ३-० को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
एकतर्फी बनेको खेलमा खेलको तेस्रो मिनेटमा मेम्फिस डिपेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले थप दुई गोल गर्यो । दोस्रो हाफको ५७ औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको दोस्रो हाफको इन्जुरी समयमा रिकार्ड पुइगले गोल गर्दै बार्सिलोनालाई ३-० को शानदार जित दिलाए ।
यस खेललाई ट्रोफी जोन गाम्पर नामाकरण गरिएको थियो । जितसँगै बार्सिलोनाले ट्रोफी जोन गाम्परको उपाधि आफ्नो पक्षमा पारेको छ । यस्तै प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओ र इंग्लिस क्लब लिभरपुलले १-१ को बराबरी खेलेका छन्। लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५३ औं मिनेटमा बिल्बाओका लागि एलेक्स बेरेनगुएरले गोल गर्दै टोली लाई हारबाट जोगाउदै खेललाई १-१ को बराबरीमा ल्याए ।