नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ साउन ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थिल तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएपनि वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष को भने सहभागिता रहेको छैन । त्यस्तै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विधान संशोधन,विधान अधिवेशनको तयारी,पार्टी एकता लगायत विषयमा छलफल हुने बताइएको छ ।
एमालेमा एकताको प्रयास भन्दै हिजो बोलाइएको केन्द्रीय कमिटी बैठक आजका लागि सारेको हो । नेपाल पक्षसँग सहमति गर्ने प्रयास स्वरुप आइतबारको बैठक सारिएको एमाले संस्थापनको भनाइ छ। आइतबार ओली र नेपाल पक्षका विघटित कार्यदलका नेताहरुबीच छलफल भएको थियो। अनौपचारिक छलफलबाट के कस्तो निष्कर्ष आयो वा के विषयमा छलफल भयो भन्ने कुरा बाहिर आएको छैन।
