नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ साउन ।

राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनद्वारा जारी साझा न्यूनतम कार्यक्रममा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ । जनमोर्चाको मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल)का महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाको सहमति नरहेको स्पष्ट पारेका हुन् ।
‘त्यसमा राष्ट्रिय जनमोर्चाको नाम उल्लेख गरिएको छैन । राजमो गठवन्धनमा सामेल भएको भए पनि सरकार वा सरकार सञ्चालनको संयन्त्रमा सामेल भएको छैन’ महामन्त्री सिंहले भनेका छन्, ‘सरकारमा सामेल भएका विभिन्न पक्षहरुसित हाम्रा कैयौँ मतभेदहरू भएको हुनाले सरकार वा सरकार सञ्चालनको संयन्त्रमा सामेल नहुने नीति लिइएको हो । त्यसअनुसार नै साझा न्यूनतम कार्यक्रममा पनि हाम्रो पूर्ण सहमति छैन र त्यसैले त्यसमा राजमोको नाम उल्लेख गरिएको छैन ।’
गठबन्धनमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीतर्फ लक्षित गर्दै महामन्त्री सिंहले सरकारमा सहभागी विभिन्न पक्षसित आफूहरुको असहमति रहेको बताएका हुन् । तर, केपी ओलीको प्रतिगमनकारी कदमविरुद्ध उनीहरुसँग कार्यगत एकता गरिएको उनले स्पष्ट पारेका छन् ।
सिंहको वक्तव्यमा भनिएको छ, ‘ओली सरकारको अधिनायकवादी र प्रतिगामी कदमबाट संसद मात्र होइन, बहुदलीय व्यवस्था तथा सम्पूर्ण लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियतामाथि नै गम्भीर खतरा पैदा भएको थियो । त्यसकारण त्यसको सामना गर्नका लागि हाम्रा बिचमा कैयौँ गम्भीर प्रकारका राजनीतिक मतभेदहरू भए पनि कार्यगत एकता वा सहकार्य गर्ने निर्णय गरेका थियौँ ।’

