आज ‘यथार्थपत्र’ सार्वजनिक गर्दै अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालको ‘अर्थतन्त्रको यथार्थपत्र’ मंगलबार ल्याउने भएका छन्। अर्थमन्त्रीले मंगलबार प्रतिनिधि सभामा यथार्थपत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ। वर्तमान आर्थिक अवस्थाको जानकारी तयार गरिएको अर्थमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।

कोभिडबाट अर्थतन्त्रमा परेको प्रभावलगायत विषयलाई समेटेर यथार्थ विवरण तयार पारिएको मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिए। यथार्थपत्रमा अबका चुनौतीलाई र अबको बाटो के–कस्तो हुने भनेर पनि उल्लेख गरिएको उनको भनाइ छ।



नयाँ सरकार आएपछि अर्थमन्त्री बनेका शर्माले यथार्थपत्र ल्याउन लागेका हुन्। यसअघि डा युवराज खतिवडाले श्वेतपत्र ल्याएका थिए। आफूभन्दा अघिका सरकारलाई विभिन्न आरोप लगाउँदै श्वेतपत्र ल्याएको डा खतिवडामाथि आरोप लागेको थियो।

उता राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति भने अर्थ मन्त्रालयका कारण अड्किएको छ। गत बुधबार बसेको अर्थ समितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले भने, ‘हामी अर्थ मन्त्रालयको पत्र कुरिरहेका छौं। मौद्रिक नीति तयार भइसक्यो। सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘बजेट नै वित्तिय नीति र मौद्रिक नीतिलाई जोड्ने आधार भएकोले नयाँ बजेटअनुसार मौद्रिक नीति ल्याउने सोचमा छौं।’

सम्बन्धित समाचार