लुम्बिनीमा सांसद जोगाउन धौधौ, कहिले रिसोर्ट, कहिले होटलमा बास

लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनका सांसदहरु मंगलबार लुम्बिनीमा भेला भएका छन्। बुधबार बस्ने प्रदेशसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न गठबन्धनका सबै सांसद लुम्बिनीमा भेला भएका हुन्। बुधबार प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

यसअघि सोमबार कपिलवस्तुको वाणगंगास्थित राजापानी रिसोर्टमा बसेका गठबन्धनका सांसद दिउँसो लुम्बिनीतर्फ हानिएका हुन्। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव सफल बनाउन सांसदहरुलाई एकताबद्ध बनाउने गरी केही दिनदेखि गठबन्धनले सांसदलाई रिसोर्ट र होटलमा राख्न थालेको हो।



विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सांसदहरू एक ठाउँमा भेला भएको नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री सुदर्शन बरालले बताए। सोमबार राजापानी रिसोर्टमा रात बिताएका गठबन्धनका सांसदहरुले मंगलबार भने लुम्बिनीमा रात बिताउनेछन्।

लुम्बिनीमा हुने छलफलमा गठबन्धनका अन्य सांसद पनि सहभागी हुनेछन्। यसअघि राजापानी रिसोर्टमा नेकपा माओवादी केन्द्र र गठबन्धनका केही नेता मात्रै सहभागी थिए। मंगलबार भने विपक्षी गठबन्धनका सबै सांसद भेला भएर अविश्वास प्रस्तावलाई पारित गर्ने गरी छलफलमा जुट्ने नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए।

केही दिनअघि माओवादी केन्द्रकी प्रदेशसभा सदस्य विमला कुमारी वली मुख्यमन्त्री निवासमा बन्धक बनेकी थिइन्। यस घटनापछि सांसद जोगाउन माओवादी केन्द्रले रिसोर्टमा राखेर छलफल गर्न थालेको हो। मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध साउन १९ गते विपक्षी दलका ३४ सांसदले अविश्वासको प्रस्ताव पेस गरेका थिए।

लुम्बिनीमा सत्तासी एमालेका ३८ सांसद छन्। बहुमतका लागि ४१ सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनीमा हाल ८० प्रदेशसभा सदस्य कायम छ। विपक्षी दल कांग्रेस १९, नेकपा माओवादी केन्द्र १८, जनता समाजवादी पार्टी ३ र राष्ट्रिय जनमोर्चाका १ गरी ४१ सांसद छन्। सांसद खरिदबिक्री भइरहेकाले विपक्षीले आफ्ना सांसद जोगाउनकै लागि होटल र रिसोर्टमा राख्न थालेको हो। लुम्बिनीमा २ जना मात्रै सांसद यताउता भएमा सरकार फेरबदल हुन सक्छ। त्यसैले विपक्षीले आफ्नो बहुमत कायम राख्न सांसदलाई होटलमा राखेको एक नेताले बताए।

सम्बन्धित समाचार