नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

मुख्यमन्त्रीले राजीनामा दिने वा अविश्वास प्रस्ताव सामना गर्नेबारे निर्णय गर्न एमालेले लुम्बिनी प्रदेशको संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजेका लागि बैठक बोलाइएको बैठकमा राजीनामा दिन लागेको जानकारी गराउने तयारीमा पोखरेल रहेको बताइन्छ ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। उक्त प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ। स्पष्ट अल्पमतमा परेपछि बैठक अगाडि नै राजीनामा दिने तयारीमा पोखरेल रहेका छन् ।
शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सांसद छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोसहितको विपक्षमा गठबन्धनमा सभामुखबाहेक ४१ सांसद छन्। सत्तामा टिक्न यसअघि सबै हर्कत गरेका मुख्यमन्त्री पोखरेलसँग अब भने राजीनामा दिएर सरकारबाट बाहिरिने वा अविश्वासको प्रस्तावबाट हट्नुबाहेक अर्को विकल्प नभएको दाबी विपक्षी गठबन्धनले गरेका छन्।

