नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत भएको छ । पोखरेलको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले राजीनामा दिएका थिए । प्रदेश प्रमुखको कार्यालयले पोखरेलको राजीनामा स्वीकृत गरिएको जनाउदै उक्त पत्र प्रदेशसभामा पनि पठाएको छ । स्पष्ट अल्पमतमा परेपछि पोखरेले प्रदेशसभाको विशेष अधिवेशन बैठक सुरु हुनु पूर्व नै राजनीमा दिएका हुन् ।
त्यस्तै लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । अविश्वासको प्रस्तावको छलफल गर्दै गर्दा पोखरेलले राजीनामा दिएपछि अधिवेशन स्थगित भएको हो ।
अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । बैठकमा सत्ता पक्षका प्रदेशसभा सदस्यको सहभागीता रहेको थिएन । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीको जवाफका लागि प्रदेशसभा एक घण्टाका लागि स्थगित गरेका थिए । तर, मुख्यमन्त्री पनि अनुपस्थित भएपछि मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर प्रदेशसभा बैठक पुन: स्थगित भएको छ ।
विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेल विरुद्ध गत साउन १९ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ३४ जना सांसदहरुको हस्ताक्षर सहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले संविधानको धारा १८८ को उपधारा ४ र लुम्बिनी प्रदेशको प्रदेश सभा नियमावलीको १४४ को उपनियम १ बमोजिम मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेको लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरिएको थियो ।
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखेरलले अल्पमतमा पर्दा पनि राजीनामा नदिएको भन्दै विपक्षी दलले आक्रोश पोख्दै आएका थिए ।

