नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ असहमत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । एमसीसीबारे प्रचण्ड तयार नभएको भन्दै देउवाले साझा न्यूनतम कार्यक्रममा उक्त विषय समावेश नगरेको बताए ।
नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले साझा न्यूनतम कार्यक्रममा हुम्लामा चीनले सीमा अतिक्रमण गरेको र एमसीसीको विषय किन नसमेटिएको भन्दै प्रश्न गरेका थिए । जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’
त्यस्तै भेलामा जीवनबहादुर शाहीले पनि चीनले सीमा मिचिएको विषय समावेश नगरेको भन्दै सीमा मिचिएको तथ्य झुटो सावित भए आफूले राजनीति छाड्ने बताए । भेलामा प्रश्न उठेपछि महामन्त्री पूर्णबहादुर खड्काले निधि र शाहीलाई आश्वस्त पार्न खोजेको एक स्रोतले बतायो । सरकारले यस विषयमा उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने खड्काले बताए ।

