नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ साउन ।

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्। केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्। गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ।
जसपाबाट तीनैजना सांसद सुमन शर्मा रायमाझी, पुर्मती ढेँगा र सहसराम यादव मन्त्री बनेका छन्। माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मन्त्री नियुक्त भएका कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।
स्रोतका अनुसार चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्न लागेका हुन्। मुख्यमन्त्री केसी रोल्पा १ (क)बाट निर्वाचित भएका हुन् । चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए ।

